काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले सहकारी पीडितको समस्या दिनदिनै बढ्दै गएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै गौतमले सहकारी ठगीमा सबैभन्दा बढी महिला पीडित भएका बताउनुभयो । आफ्नो गाँस काटेर महिलाले जम्मा गरेको रकम जोखिममा परेको उहाँले बताउनुभयो । ‘ती पीडीतहरुको आवाज हामी बन्न सकेनौँ भने दुनियाँले धिक्कार्ने छन्’, उहाँले भन्नुभयो ।
सहकारी पीडितको समस्या सरकारले नसुनेको भन्दै उहाँले आलोचना गर्नुभयो । अझ सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृह मन्त्री समेत मुछिनु भएको उहाँले बताउनुभयो ।
सरकारले घटनामा संलग्न ओपी माथि अनुसन्धान गर्नुपर्ने ठगको पक्षमा उभिएको उहाँले आरोप लगाउनुभयो । ‘सत्ता साझेदार दलका नेता एउटा व्यक्तिलाई जोगाउनु आफ्नो धर्म हो भन्ने ठानेर सतिसाल जस्तै उभिएका छन्’, उहाँले भन्नुभयो ।
आरोपी गृह मन्त्रीले आफू माथि परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उहाँले बताउनुभयो । सहकारी पीडित घटना ओझेलमा परेको कारण संसदीय छानबिन समिति बनाउन आवश्यक छ भनेर कांग्रेसले भन्दै आएको उहाँले बताउनुभयो । ‘आरोपलाई अनुसन्धान नगरी खारेज गरिँदैन’, उहाँले भन्नुभयो ।
संसदीय छानबिन समितिसँग नडराउन उहाँले आग्रह गर्नुभयो । सो समितिमा कांग्रेसका सांसद मात्र नहुने भएकाले कांग्रेसले जे भन्यो त्यो कार्यान्वयन नहुने उहाँले बताउनुभयो । संसदीय समितिलाई आफू माथि लागेको आरोप गलत हो भन्ने प्रमाणित गर्ने अवसर पनि भएको उहाँले प्रष्ट पार्नुभयो ।
