काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले हावा हुरीले किसानको फलफूल र बालीनालीमा ठुलो क्षति भएकोले पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिनु पर्ने माग गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक सयमा बोल्दै गैरेले हावाहुरीले पाल्पाको रिद्धिकोटमा ८ लाख बोट अकबरे खुर्सानी नष्ट भएका, सुन्तला र कागतीका फूल नष्ट भएको, तरकारी बालीमा असिनाले क्षति भएको उहाँले बताउनुभयो । ‘किसानको ठुलो मात्रामा क्षति भएको छ, पीडित भएका किसानलाई राहत उपलब्ध गराउने र क्षतिपूर्तिको प्रबन्ध गरोस्’, गैरेले भन्नुभयो ।
हवा हुरीले धेरै घर र विद्यालयका छाना उडाएको, विद्युत् पोलहरू ढलेका प्रति पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
हरेक वर्ष आगलागी र डढेलोले लगायतका घटनाले क्षति हुने गरेकाले त्यस्तो क्षतिको सुरुमा नै अनुमान गरेर कम गराउन लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
गैरेले पाल्पाको रिद्धिकोटमा १९ वर्षीय किशोरीको हत्या भएको घटना प्रति दुःख पनि व्यक्त गर्नुभयो । यस्ता घटनाले समाजमा उत्श्रृङ्खलता बढेको गैरेले बताउनुभयो । यस्ता घटनालाई निरुत्साहित गर्न सबैको ध्यान जानु पर्ने र पीडित परिवारलाई राहतको व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसै गरी पाल्पामा ओत लागेको ठाउँमा हावा हुरीले रुख ढालेर ज्यान गुमाएकाका परिवारलाई पनि राहतको व्यवस्था गर्न गैरेले सरकारसँग माग गर्नुभयो ।
