काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा कार्की भण्डारीले प्रतिनिधि सभाको शून्य समयमा उठाएका सवालमा सरकारको जवाफ नआएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भण्डारीले जनताका चिन्ता, पीडा र सरोकारका विषयमा उठाइएका प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । यो अवधिमा प्रतिनिधि सभा सदस्यले २ हजार ६ सय २६ प्रश्न उठाएका पनि उहाँले जानकारी दिनुभयो । ‘सरकारले सुन्ला र सुल्झाउला भनेर विश्वास गरेका हौँ’, उहाँले भन्नुभयो ।
शून्य समयमा उठाएका प्रश्न प्रश्न मात्र नभएर देश र जनताको आशा र विश्वास गुम्दै जाने उहाँले बताउनुभयो । ‘उठेका प्रश्न प्रति सरकार उदासीनता हुने हो भने लोकतन्त्र र संसदीय अभ्यास माथि जनताको बिस्तारै विश्वास कमजोर हुँदै जान्छ’, भण्डारीले भन्नुभयो ।
यसरी उठाएका प्रश्न के कति समाधान भए, के हुन सकेनन्, हुन सकेनन् भने किन भएनन् भन्ने कुराको जवाफ सरकारले दिनुपर्ने उहाँले माग गर्नुभयो ।
