काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीको सङ्ख्या र अवस्था बारे सरकार बेखर रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष सयमा बोल्दै शर्माले उनीहरूको खोजीमा सरकारले चासो नदिएको बताउनुभयो । ‘बेखर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन’, उहाँले भन्नुभयो ।
रुसका राजदूतसँग अघिल्लो सरकारले सो विषयमा कुरा गर्दा नेपालीहरू अनुमति लिएर रुस नगएर नेपाल फर्कन पनि नचाहेका गैरजिम्मेवार जवाफ दिनुभएको भन्दै उहाँले आलोचना गर्नुभयो । त्यस्तो जवाफ कूटनीतिक जवाफ नभएको उहाँले बताउनुभयो ।
रुसी सेनामा कम्तीमा पनि ७ सय नेपाली रहेका र ती मध्ये ४० जना मारिएका उहाँले बताउनुभयो । त्यस्तै १ सय १७ जना घाइते र ३ सय बेपत्ता रहेका सूचना आफूले पाएको पौडेलले बताउनुभयो । रुसमा मारिएकालाई स्वदेश ल्याउन नसकेपछि कतिपयका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका उहाँले सुनाउनुभयो ।
रुसमा मात्र होइन युक्रेनी सेनाको बन्दीका रूपमा पनि नेपाली युवा रहेको उहाँले बताउनुभयो । यसमा सरकार गम्भीर हुनु पर्ने भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो ।
रुसी सेनामा रहेका युवाहरूले नेपाल फर्कने फाराम भरेर बसेका भए पनि स्वदेश ल्याउन नसकेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । सरकारले लाउन नसके मानव अधिकारको क्षेत्रमा काम गर्ने रेडक्रस लगायतका संस्थालाई सरकारले अनुरोध गर्नुपर्ने उहाँले बताउनुभयो ।
यस्तो बेलामा श्रम मन्त्रालयले नेपालीलाई रुस जाने अनुमति दिनुमा गम्भीर स्वार्थ लुकेको पौडेलले बताउनुभयो । मानव तस्करसँग मिलेर यो कार्य गरेको हुनसक्ने उहाँले आशंका गर्नुभयो ।
हमासले बन्धक बनाएका विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता लाग्न नसक्नु पनि दुःखको कुरा भएको उहाँले बताउनुभयो । जोरीको खोजीको पहल गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
देशलाई यति ठुलो सङ्कट हुँदा परराष्ट्र मन्त्री चीनको सयर गरेर बसेको भन्दै उहाँले आलोचना गर्नुभयो । उहाँले परराष्ट्र मन्त्रीलाई गैरजिम्मेवारको संज्ञा दिनुभयो ।
त्रिभुवन विश्व विद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाको बारेमा पनि सरकारले प्रतिनिधि सभामा जवाफ दिनु पर्ने उहाँले बताउनुभयो । साथै त्रिभुवन विश्वविद्यालयमा परीक्षाको कपि हरायो भनेर एकाएक दुई वर्ष पछि विद्यार्थीलाई परीक्षा दिन बोलाउनु मानवीय संवेदनाहीन काम भएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
