काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले परम्परागत रूपमा ल्याउने बजेट र कार्यक्रमले देशको सन्तुलित विकास सम्भव नभएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष सयमा बोल्दै ढकालले पहुँचको आधारमा प्रक्रिया बिना आएका योजनामा बजेट विनियोजन नगर्न मन्त्रीहरूलाई आग्रह गर्नुभयो । स्थानीय तहबाट सिफारिस नभएर कसैको खल्ती र चिटकटोबाट आएका योजना आगामी वर्ष नराख्न ढकालले खबरदारी गर्नुभयो । ‘मन्त्रालयहरूमा योजना बजेटको सिलिङ तयार गर्दै गर्दा मन्त्रालयहरूमा हाटबजार लागेको जस्तो भएको छ, योजना माग्नेहरूको’, ढकालले भन्नुभयो ।
ती योजनाहरू कुनै प्रक्रिया पुगेर नगएका उहाँले बताउनुभयो । कुनै लेटर हेडको चिटकटो र डायरीमा लेखिएका योजना त्यसरी माग गरिएको उहाँले बताउनुभयो । यस वर्ष पनि विगतको जस्तो निरन्तरता भयो भने त्यसलाई स्विकार्न नसकिने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले कुनै पनि प्रक्रिया सुरु गर्दा यथास्थितिको निरन्तरता गरियो भने लक्षमा नपुगिने स्पष्ट पार्नुभयो । मन्त्रालयमा स्थानीय तहसँग समन्वय नभएका योजना समावेश नगर्न उहाँले आग्रह गर्नुभयो ।
