काठमाडौं । प्रतिनिधि सभा सदस्य मनिष झाले एसईई परीक्षामा गलत क्रियाकलाप गराएर मधेसलाई बदनाम गराउने काम गरिएको बताउनुभएको छ ।
परीक्षाको नियमन गर्ने निकायले मर्यादित परीक्षा सञ्चालन नगराएर मधेसलाई बदनाम गराउने काम गरेको उहाँले बताउनुभयो । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै झाले प्रहरी, प्रशासनका प्रमुखहरू, निरीक्षक र सबै अधिकारीको कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटना भएका र त्यसको मूल्य भने सिङ्गो मधेसले चुकाउन परेको भन्दै उहाँले गुनासो गर्नुभयो । ‘यसको दोष मधेसले किन खेप्दै छ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौँ न पाइहाल्छ भन्ने छ, एसईई पास भएन भने त्यहाँ जाऊ भइहाल्छ भन्ने छ’, उहाँले भन्नुभयो ।
परीक्षामा खटिएका सिडिओ, एसपी, निरीक्षक सबै अधिकारीहरूले नियन्त्रण नगर्ने तर दोष भने मधेसलाई दिने कुरा मान्य नहुने उहाँले बताउनुभयो । ‘यसको दोष हामी मधेसी होइन, केन्द्रबाट खटाइने सबै अधिकारीहरू हुन्’, उहाँले भन्नुभयो ।
उहाँले हिजो पहाडमा इङ्लिस, गणित र विज्ञान विषय पढाउन मधेसकै झा, यादव वा अरू समुदायका मानिसहरू पहाड उक्लिएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । त्यसैले मधेसमा परीक्षा प्रणालीमा देखिएका बेथिति सुधार गर्न उहाँले सुझाव दिनुभयो ।
