काठमाडौं । प्रतिनिधि सभामा आज छलफल थियो विद्युतीय व्यापार विधेयक सम्बन्धमा । विद्युतीय व्यापार अर्थात् ई–कमर्स । तर, नेकपा एमालेका सांसद् किरणकुमार शाहले भने विद्युत व्यापार सम्बन्धमा बोल्नुभयो ।
सो छलफलमा शाहभन्दा पहिले १० जना सांसदले बोलिसकेका थिए । सबैले विद्युतीय कारोबार सम्बन्धमै बोले । तर, किरणकुमार साहले भने विद्युत व्यापार सम्बन्धमा बोल्नुभयो । सांसद् शाहको त्रुटी कति गम्भीर छ भने उहाँले न विधेयक पढ्नुभएको रहेछ, न राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको प्रतिवेदन नै पढ्नुभएको रहेछ । त्यतिमात्र होइन, आफूभन्दा अघि बोलेका सांसद्हरुले बोलेका आधारमा पनि विधेयक के विषयमा हो भन्ने भेउ पाउनुएन ।
ई–कमर्स व्यापार भनेको अनलाइन व्यवसाय हो । जसमा ग्राहक र व्यावसायीबीच अनलाइन सम्झौंता भएर सामान तथा वस्तु किनबेत हुन्छ । यस्ता व्यवसायलाई कानूनको दायरामा ल्याउन सरकारले कानुन बनाउन राष्ट्रिय सभामा विधेयक दर्ता गरेको थियो । सो विधेयक संशोधन सहित पारित गरेर राष्ट्रिय सभाले प्रतिनिधि सभामा पठाएको हो । सो विधेयक उपर आज छलफल हुँदा सांसद् शाहले विद्युतीय कारोबार सम्बन्धमा नबोलेर विद्युत सम्बन्धमा बोल्नुभएको हो ।
उहाँले सुरुमै भन्नुभयो– ‘विद्युत व्यापार विध्ययकलाई देशको उर्जा क्षेत्रमा महत्वपूर्ण कदमका रुपमा लिएको छु ।’
उहाँले यसो भन्दै केही सुझाव सहित यसको समर्थन गर्ने बताउनुभयो । नेपालमा जलविद्युतको अपार सम्भवना भए पनि त्यसको पूर्ण सदुपयोग गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो– ‘विद्युतीय व्यापार विधेयकले निजी कम्पनीहरुलाई विद्युत् व्यापारमा भाग लिन अनुमति दिन्छ जसले गर्दा प्रतिस्पर्धालाई बढावा दिएर हाम्रो विद्युत उत्पादनलाई पक्कै पनि बढाउने छ ।’
‘एक प्रतिस्पर्धी र जिवन्त लगानीले बजार आकर्षित गर्नेछ । जसले गर्दा राम्रो पूर्वाधारको निर्माण मात्र नभई नेपाली उपभोक्ताले न्यून मूल्यमा विद्युत उपभोग गर्न पाउँछन् ।’
बोल्दाबोल्दै सांसद् शाहले कतिसम्म भन्नुभयो भने– ‘यस विधेयकले देश बाहिर विद्युत् व्यापार गर्ने निजी कम्पनीहरुका लागि पनि नवीन ढोका खोलेको छ । जसबाट थप राजस्व आर्जन गर्न हामीलाई मद्दत पुग्ने छ ।’
कहाँको विद्युतीय व्यापार कहाँको विद्युत व्यापार, सांसद् शाहले केही भेउ नै पाउनुभएन । उहाँले पूरै दक्षिण एसियाको विद्युत व्यापार सम्बन्धमा नै बोलिदिनुभयो । भन्नुभयो– ‘भारत र बंगलादेशसँग भएका विद्युत व्यापार सम्झौताबाट लाभ लिन पनि यो विधेयक आवश्यक छ ।’
राष्ट्रिय सभामा यो विधेयक प्रस्तुत हुँदा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल आफैं पनि रनभुल्लमा पर्नुभएको थियो । आफैंले प्रस्तुत गरेको विधेयक के विषयको थियो भन्ने मन्त्रीले भेउ पाउनुभएको थिएन । राष्ट्रिय सभाको गत असार २८ गतेको वैठकमा मन्त्री रिजालले विधेयक पेस गरिसकेपछिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै विद्युत निर्यात गर्ने कुरा गर्नुभएको थियो । कतिसम्म भने मन्त्री रिजालले भारत र बंगलादेशलाई विद्युत निर्यात गर्ने विचार समेत राख्नुभएको थियो ।
मन्त्री रिजालले जस्तै गल्ती आज किरण शाहले गर्नुभएको हो ।
आज किरणले मात्र गल्ती गर्नुभएन, कैयन सांसद्हरुले गल्ती गरे । तर, अन्य सांसद्हरुको त्रुटी भने किरणको जस्तो थिएन । सो विधेयक राष्ट्रिय सभाले संशोधन सहित पठाएको थियो । राष्ट्रिय सभाले पठाएको संशोधन पढ्दै नपढी सांसद्हरुले विचार राखेका थिए । जस्तो कि रास्वापाकी सांसद् सोविता गौतम र दिलेन्द्रप्रसाद वडु ।
