काठमाडौं । नेपाली कांग्रेसले सहकारीको विषयमा आरोपी गृहमन्त्री माथिको संसदीय छानबिन अनिवार्य सर्त रहेको दोहोर्याएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस सांसदहरूले छानबिन समिति नबनाएको भन्दै बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका थिए । कांग्रेस सांसदले उठेर विरोध जनाए पछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसदहरूको तर्फबाट रामकृष्ण यादवलाई बोल्ने समय दिनुभएको थियो । ‘संसदीय छानबिन आवश्यक छ भनेर हामीले भनिरहेका छौँ’, उहाँले भन्नुभयो ।
बैठकमा बोल्दै उहाँले कांग्रेसले संसद्को काम अवरुद्ध नहोस् भनेर साङ्केतिक विरोध जनाएको बताउनुभयो । उहाँले कांग्रेसलाई संसद्को गतिविधि ठप्प पार्ने अवस्थामा पुर्याउन बाध्य नबनाउन चेतावनी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्ति गृह मन्त्री भएकोले छानबिन प्रक्रिया प्रभावित भएको कारण उहाँ माथि छानबिन गर्न संसदीय समिति आवश्यक रहेको यादवले बताउनुभयो । उहाँ माथि लागेको आरोपमा आधार, तथ्य र प्रमाण सहित कांग्रेसले आवाज उठाएको उहाँले बताउनुभयो ।
तत्कालीन गृह मन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिमा नै आएर लामिछानेको माथि छानबिन गर्न संसदीय समिति बनाउने आश्वासन दिएको उहाँले बताउनुभयो । प्रहरीले पनि अनुसन्धान भइरहेको बताएको त्यति बेला कांग्रेस चुप लागेर बसेको उहाँको भनाइ छ ।
अहिले प्रश्न उठाउने ठाउँबाट रवि लामिछाने गृह मन्त्री बनेको कारण सरकारबाटै अनुसन्धानको काम रोकिएकोले विश्वासको सङ्कट परेको उहाँले बताउनुभयो । ‘त्यस कारण निष्पक्ष छानबिनको लागि संसदीय समिति आवश्यक भयो’, उहाँले भन्नुभयो ।
संसदीय समितिलाई लामिछानेको मात्र होइन सबै खालका सहकारी ठगीका घटनाका सत्य तथ्य छानबिन गर्ने अधिकार दिएर अधिकार सम्पन्न समिति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
