काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर मात्र जिम्मेवारी पुरा नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले पर्यटकीय राजधानी घोषणाको औचित्य पुष्टि गर्न आवश्यक पूर्वाधार र आधार निर्माणको काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यसको लागि सबैभन्दा पहिला पर्यटक ऐन २०३५ लाई परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
होटेल व्यवस्थापन, सवारी साधन, हवाई सञ्जाल, आवश्यक पूर्वाधार निर्माण र पर्यटनमैत्री ऐन, नीति र संरचना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । यसको लागि पोखरा केन्द्रित विशेष रणनीति आवश्यक रहेको भट्टराईको भनाई छ । ‘पोखरालाई मुख्य गन्तव्य बनाउन पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनु सरकोको दायित्व हो’, उहाँले भन्नुभयो ।
पोखरा–मुग्लिङ सडक निर्माणको काममा भएको ढिलाइ पनि पोखराको पर्यटन प्रवर्धनमा बाधक बनिरहेको उहाँले बताउनुभयो । पोखरा र कर्णाली तथा पोखरा र लुम्बिनीलाई जोड्ने पूर्वाधारलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउनु पर्ने उहाँले सुझाव दिनुभयो ।
पोखरामा सुन्तला उत्पादनमा समस्या देखिएकोले त्यसको अध्ययन गरी पोखरालाई सुन्तला उत्पादनको पकेट क्षेत्र बनाउन उहाँले सुझाव दिनुभयो । पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थालाई अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक थलोको रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
पोखरमा हरित सडक, सार्वजनिक शौचालय, ट्राफिक व्यवस्थापन, विद्युतीय गाडी, फोहोर मैला व्यवस्थापन लगायतका क्षेत्रमा सरकारले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
