काठमाडौं । प्रतिनिधि सभा सदस्य रेखा यादवले सभामुख देवराज घिमिरेले उपसभामुख माथि अन्याय गर्नुभएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै यादवले विदेश भ्रमणमा जाँदा सभामुखले उपसभामुखलाई जिम्मेवारी नदिएर उपसभामुख माथि अविश्वास गर्नुका साथै महिला माथि नै अपमान गर्नुभएको बताउनुभएको छ । सभामुखले नियमावलीले दिएको अधिकार समेत उपसभामुखलाई नदिएर अन्याय गर्नुभएको उहाँले बताउनुभयो ।
‘सभामुख बाहिर जानु पर्ने भएर हतार गर्दा कहीँ हाम्रो उपसभामुख प्रति अन्याय त भएको होइन ? म सभामुख महोदयलाई नै सोध्न चाहन्छु, सभामुखको अनुपस्थितिमा किन उपसभामुखले सभा सञ्चालन गर्न नपाउने ? त्यो अधिकारबाट उहाँलाई किन वञ्चित गरिने ? के यो नियमावलीमा त्यही लेखिएको छ ? कि उपसभामुख महिला भएर हो ? यदि महिला नै भएर हो भने संविधानमा लेखिएको अधिकार सम्पन्नताको कुरा कहाँ जान्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले महिला के अधिकार सम्पन्न हुँदैन ? भन्दै सभामुखलाई प्रश्न गर्नुभयो । के उसको कार्यक्षमतामा सधैँ शंका गर्ने ? या उसको कार्यक्षमता देखाउने हैसियत छैन ? यो उपसभामुखको सवाल मात्रै होइन, महिला पनि त्यसमा जोडिएको छ, महिला क्षमतामा शंका गरेको देखिएको छ, के यो समग्र महिलालाई उपेक्षित गरेको हो कि होइन ? यसरी हाम्रो नेपाल समुन्नत नेपाल बन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
