काठमाडौं । प्रतिनिधि सभा सदस्य सोविता गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा गर्दा न्याय सम्पादन प्रक्रिया प्रभावित भएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गौतमले न्यायाधीश नियुक्तिमा राजनीतिलाई छिराउने कार्य गलत भएको बताउनुभयो । आज सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा एक जना खाली भयो भने त्यहाँ नियुक्ति नगरेर भागबण्डा गर्न चार÷पाँच जना खाली हुँदासम्म पर्खने गर्दा न्याय सम्पादन प्रक्रिया नै प्रभावित हुने गरेको बताउनुभयो । ‘यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने स्थिति आइसकेको छ’, उहाँले भन्नुभयो ।
गौतमले समयमा न्याय सम्पादन नहुँदा धेरै आरोपीहरू लामो समय पुर्पक्षको लागि जेल बस्नु परेको अवस्था रहेको बताउनुभयो । जसको प्रभाव कारागारमा रहेको उहाँले बताउनुभयो । जेलमा क्षमता भन्दा चारगुना बढी बन्दी राखिएको पछि समयमा मुद्दा नछिनिनु भएको उहाँको भनाइ छ ।
प्रत्येक दिन राज्यले बन्दीहरूलाई ७ सय ग्राम चामल र ८० रुपैयाँ दिने गरेको बताउँदै उहाँले यसले एकातिर राज्यलाई भार परेको र अर्कोतिर त्यसबाट उनीहरूले पोषणयुक्त खाना खान नपाएको बताउनुभयो । साथै कारागारमा पानी, सुत्ने ठाउँ लगायतको समस्या रहेको बताउनुभयो ।
मुद्दामा पालो नआएर २० औ महिना जेलमा मुद्दाको पालो पर्खिएर जेलमा बस्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । समयमा न्याय सम्पादनको लागि न्यायालयको लागि पर्याप्त बजेट र जनशक्ति व्यवस्था गर्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘न्यायालयलाई भात पक्राउ भनेको छ, भात पकाउन एक मुठी चामल दिइएको’, उहाँले भन्नुभयो ।
