काठमाडौं । नेपाली कांग्रेले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने माथि संसदीय छानबिनको मागबाट कांग्रेस एक इञ्च पनि तलमाथि नहुने दोहोर्याएको छ ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखको अनुमतिबाट बोल्नु भएका कांग्रेस महामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षको शालीनतालाई कमजोरी नठान्न आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षको सहमति बेगर कुनै पनि प्रस्तुति रोष्टमबाट आकस्मिक रूपमा भयो भने प्रमुख प्रतिपक्ष कठोर रूपमा प्रस्तुत हुने शर्माले चेतावनी दिनुभयो । ‘सरकार विधेयक लिएर आउँछ, सदन चल्छ, सरकार बलजफ्ती आउँछ, सदन चल्दैन, कुरा स्पष्ट छ’, उहाँले भन्नुभयो ।
संसद्को रोष्टम कसैलाई दोषी वा निर्दोष करार गर्ने थलो नभएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर गृह मन्त्री निर्दोष हुनुहुन्छ भनि सफाइ दिनुभएको बताउँदै शर्माले गृह मन्त्रीलाई पनि रोष्टममा उभिएर ठुलो स्वरमा म निर्दोष छु भनि उद्घोष गर्ने हतारो भए पनि कांग्रेसले त्यो अवसर नदिने उहाँले स्पष्ट पार्नुभयो । प्रतिनिधि सभाको रोष्टम को दोषी, को निर्दोष हो भनेर छुट्याउने थलो नभएको बताउँदै शर्माले गृह मन्त्री लामिछानेको सहकारी प्रकरणमा संलग्नताको बारेमा संसदीय छानबिन गरी सफाइ पाउने मौका दिनु पर्ने धारणा राख्नु भयो ।
सामान्यतया चोरी, ठगी, जालसाजीका मुद्दा गाउँकै प्रहरीले समाधान गर्ने भए पनि गृह मन्त्रीकै संलग्नताको विषय उठेकोले संसदीय छानबिन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । आफूलाई नयाँ हुँ भन्ने गृह मन्त्रीले आफू माथि प्रश्न उठेपछि म माथि छानबिन होस् भनेर आफैँले प्रस्ताव राख्नु पर्नेमा छानबिन समिति बनाउनबाट सरकार भागिरहेको भन्दै शर्माले आपत्ति जनाउनुभयो ।
उहाँले रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव नगरेको पनि स्पष्ट पार्नुभयो । ‘प्रधानमन्त्रीकै अफर आउँदा पनि कोही नेता नाइँ मलाई प्रधानमन्त्री होइन गृह मन्त्री नै चाहिन्छ भन्नुहुन्छ भने शंका गर्नुपर्ने ठाउँ हुन्छ कि हुँदैन ?’, उहाँले प्रश्न गर्नुभयो ।
रवि लामिछाने गृह मन्त्री भएपछि सहकारी ठगीको छानबिन नै रोकिएको उहाँले बताउनुभयो । त्यसैले सयौँ माथिको अनुसन्धान प्रभावित भएकोले संसदीय छानबिन समिति आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
पुराना दलका नेताहरू माथि आरोप लाग्दा चोकमा बहस गर्छु आऊ भनेर कसैले पनि नभनेका र छानबिन समिति समेत बनेका उहाँले स्मरण गराउनुभयो । गृह मन्त्री लामिछानेले सार्वजनिक रूपमा म बहस गर्न तयार छु कहाँ आउनु पर्ने हो भन्नुस् भनेर धम्की दिँदै हिँडेको उहाँले टिप्पणी गर्नुभयो । ‘आउनुहोस् बहस गर्नका लागि म ठाउँ निर्धारण गरिदिन चाहन्छु, त्यो हो नेपाल देशको काठमाडौँ जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार भित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा उहाँलाई म निमन्त्रणा गर्न चाहन्छु’, शर्माले भन्नुभयो ।
गृह मन्त्रीले दिएको जवाफ सडकबाट, मिडियाबाट सबै तिरबाट सुनको बताउँदै शर्माले अब उहाँले संसदीय छानबिन समितिमा जवाफ दिन पाउने बताउनुभयो । त्यसको लागि छानबिन समिति बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
रवि लामिछाने र जीबी राई अध्यक्ष र सञ्चालक तथा प्रबन्धक भएको बेला देशका पाँचवटा सहरका पाँचवटा सहकारीका ५० हजार बचतकर्ताको ८० करोड रुपैँया गोर्खा मिडियामा लगानी भएको उहाँले बताउनुभयो । पूर्व योजना अनुसार स अक्षरबाट नाम राखिएका पाँचवटा सहकारी दर्ता गरी योजनाबद्ध रूपमा रकम ठगिएको उहाँले जिकिर गर्नुभयो । रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीको नामबाट पनि दुईवटा सहकारीबाट सो मिडियामा दुई करोड रुपैँया लगानी भएको उहाँले बताउनुभयो ।
त्यहाँ भित्र यस्तो काम गर्ने एउटा कोर टिम, अर्को ढोकामा बसेर ढाकछोपको काम गर्ने डोर टिम र देशै भरी फेसबुकमा रास्वपा जिन्दाबाद भनेर लेख्ने पोर टिम रहेको शर्माले दाबी गर्नुभयो ।
उहाँले जीबी राई मलेसियामा रवि लामिछानेकै संरक्षणमा बस्नु भएको पनि दाबी गर्नुभयो । ‘जीबी राई गृह मन्त्रीज्यूको सम्पर्कमा हुनुहुन्छ’, उहाँले भन्नुभयो ।
संसदीय छानबिन समिति विगतदेखिको परम्परा रहेको शर्माले बताउनुभयो । कांग्रेसले सरकारलाई दिएको अल्टिमेटम आजबाट सकिएको बताउँदै शर्माले अब सरकारलाई संसदमा आउँदा संसदीय समिति लिएर आउन आग्रह गर्नुभयो ।
रवि लामिछानेलाई कांग्रेसका कसैले व्यक्तिगत रूपमा फोन गरेर प्रधानमन्त्रीको प्रस्ताव गरेको रहेछ भने त्यो खारेज गरिएको उहाँले घोषणा गर्नुभयो । कांग्रेसको आधिकारिक बडिले निर्णय नगरेको भ्रामक कुरामा नपर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
