काठमाडौं । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको क्रममा दुई देश बिच मैत्रीपूर्ण सम्बन्ध विस्तार र नेपालको आर्थिक विकासमा केन्द्रित रहेर छलफल गरेको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चैत ११ देखि १९ गतेसम्म भएको चीन भ्रमणको क्रममा चीनबाट नेपालाई कसरी आर्थिक लाभ र सहयोग हुनसक्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेको जानकारी दिनुभयो । चीनका अधिकारीहरूसँग भएका सबै छलफल यिनै विषयमा केन्द्रित रहेका उहाँले बताउनुभयो ।
कोभिडको बेलामा बन्द भएका नाका छिटो खेल्ने विषयमा चीन तयार रहेको उहाँले बताउनुभयो । यसबाट चिनिया नाका नजिक रहेका नेपालीले लाभ लिने उहाँले जानकारी दिनुभयो । ‘तत्काल १४ वटा परम्परागत नाका खोल्ने सहमति भएको छ, यो छिट्टै व्यवहारमा देखिने गरी कार्यान्वयन हुने कुरामा म विश्वस्त छु’, उहाँले भन्नुभयो ।
नेपाल र चीनको पारस्पारिक हितका बारेमा छलफल गर्न नेपाल र चीनका विदेश मन्त्री स्तरको संयुक्त आयोग बनाउन दुवै पक्ष सकारात्मक भएको श्रेष्ठले जनाकारी दिनुभयो । बीआरआईलाई अन्तिम रूप दिने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।
नेपालबाट चीन भ्रमणमा जाने नेपालीलाई निःशुल्क भिसा दिने विषयमा आफूले कुरा राखेको र चिनिया पक्ष सकारात्मक रहेको उहाँले बताउनुभयो । नेपालको विकासमा थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता चीनले व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा बासेका नेपालीलाई तिब्बतमा चनर क्षेत्र दिन र केही बस्तीमा चीनबाट विद्युतीकरण गर्ने कुरामा पनि चीन सकारात्मक रहेको उहाँले बताउनुभयो । काठमाडौं लासाको सिधा बस सेवा पुनः सञ्चालन गर्ने विषयमा दुवै पक्षमा सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । चीनका विभिन्न सहरबाट नेपालको काठमाडौं र पोखरमा हवाई सेवा विस्तारको विषयमा दुवै पक्ष सकारात्मक रहेको श्रेष्ठले बताउनुभयो ।
नेपालको औद्योगिकीकरण, उत्पादन बढाउने कुरामा दुवै पक्ष बिच सकारात्मक छलफल भएको उहाँले बताउनुभयो । यस विषयमा आफूले नेपालको तर्फबाट स्पष्ट कुरा राखेको श्रेष्ठले जानकारी दिनुभयो ।
