काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयका विद्यार्थीलाई शिक्षा मन्त्रालयमा प्रशिक्षार्थी कामदारका रूपमा ल्याएर समानान्तर सरकार चलाउन खोजेको नभई विद्यार्थीलाई काम सिकाउन खोजेको बताउनुभएको छ ।
मन्त्री श्रेष्ठले ल्याउनु भएको प्रशिक्षार्थी कामदार सम्बन्धी कार्यविधिको विरोध भएपछि बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले सरकारलाई अतिरिक्त व्ययभार नपर्ने गरी विद्यार्थीलाई काम सिकाउन सो कार्यविधि ल्याएको बताउनुभयो । छोटो समयको लागि महत्त्वपूर्ण र गोप्य सूचनामा उनीहरूको पहुँच नपुग्ने गरी कर्मचारीकै नेतृत्वमा प्रशिक्षार्थीलाई काम लगाइने उहाँले दाबी गर्नुभयो ।
विद्यार्थीको रुचि अनुसार सीमित सङ्ख्यामा त्यो पनि राज्यलाई अतिरिक्त भार नपर्ने गरी मापदण्ड बनाएर उनीहरूलाई राख्न खोजिएको श्रेष्ठले सुनाउनुभयो विद्यार्थीलाई न्याय हुने र उनीहरूले अवसर पाउने कुरामा राजनीति नगरिदिन पनि उहाँले आग्रह गर्नुभयो । ‘कर्मचारीले नै नेतृत्व गर्ने गरी काम गर्न खोज्दा समानान्तर सरकार कसरी बन्छ ? राज्यलाई भार पर्छ कि, भविष्यका कर्णधार निस्किन्छन् ? यो महत्त्वपूर्ण कुरा छ’, उहाँले भन्नुभयो ।
युवा विद्यार्थीका भातृ संगठन बनाएर उनीहरूको राजनीतिक रूपमा दुरुपयोग भएको उहाँले बताउनुभयो । आफ्नो राजनीतिक लाभ हेरेर विद्यार्थीको राजनीतिक संगठन भएन भने कसरी विद्यार्थीमा राजनीति विकास हुन्छ भन्ने गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘के विद्यार्थीले राजनीति मात्रै सिक्ने त ? यो देशका सरकारी कार्यालय कसरी चल्छन्, कसरी प्रभाव पार्न सकिन्छ भन्ने कुरा सिक्नु पर्दैन ?’, श्रेष्ठले प्रश्न गर्नुभयो ।
देशलाई नेता मात्र चाहिएको नभई अब्बल कर्मचारी र नीति निर्माता पनि चाहिएको उहाँले बताउनुभयो । बेरोजगारी बढ्यो, विदेश जाने बढे भनेर बिलौना मात्र गरेर नहुने बताउँदै श्रेष्ठले यसको लागि युवालाई काम सिकाउनु पर्ने धारणा राख्नु भयो । त्यसकै लागि प्रशिक्षार्थी कामदार सम्बन्धी कार्यविधि ल्याएको श्रेष्ठले दाबी गर्नुभयो । ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गर्न खोजिएको त्यही नै हो, काम सिकाउने हो’, उहाँले भन्नुभयो ।
