काठमाडाैं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले गृह मन्त्रालयमा पीएसोको आतंक बढेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खतिवडाले पूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरू जतिसुकै नम्बरमा भएपनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताउनुभयाे । दक्षता, क्षमता योग्यताको कदर नहुने परिपार्टी विकास भएको उहाँले बताउनुभयाे ।
प्रशिक्षार्थी कर्मचारी भर्ना सम्बन्धी कार्यविधिकाे विराेध गर्दै सांसद् खतिवडाले प्रश्न गर्नुभयाे - 'मन्त्रीहरू प्रशिक्षण लिइरहेका छन्, प्रशिक्षार्थी मन्त्री प्रशिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी भयो भने देश कहाँ जाने हाे ? सरकारकाे ध्यान जाओस् ।'
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकाे चीन भ्रमणबाट देशले के पायाे भन्नेबारे सदनलाई जानकारी गराउन समेत उहाँले माग गर्नुभयाे । 'परराष्ट्र मन्त्री सात दिनसम्म चीनमा गएर जिब्रो परिवर्तन गरेर आउनुभएको छ, देशले केही पायो की संसद्लाई जानकारी दिन अनुरोध गर्दछु'- सांसद् खतिवडाले भन्नुभयाे ।
संसद्काे मान मर्यादा हरण गर्ने काम भइरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'संसद्काे मानमर्यादा हरण भएको छ, संसद्मामाथि चिठ्ठी लेख्ने काम प्रहरी प्रशासनले गरेको छ, संविधानविपरित अनुसन्धानमा छ भनेर संसद्लाई चिठी लेख्ने परम्परा कहिदेखि सुरु भयो ? किन गरिन्छ ?'
