काठमाडाैं । नेकपा एमालेका सांसद् तारा लामा तामाङले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित भएकाहरुकाे समस्या तत्काल समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् तामाङले आरक्ष पीडितकाे पुनर्स्थापनाका लागि राज्यले ३२ वटा आयोग बनाए पनि समस्या समाधान नभएकाे बताउनुभयाे ।
अहिलेकाे सरकारले पूर्वन्यायाधीश राजेन्द्र सुवेदीकाे नेतृत्वमा फेरी अर्काे आयाेग गठन गरेकाे तर अधिकार नदिएकाे भन्ने सुनेकाे भन्दै उहाँले तत्काल आयाेगलाई स्राेत साधन दिएर समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयाे । 'तर उहाँले कुनै स्राेत साधन नदिइएकाले काम गर्न सकिन्न भनेर मन्त्रालयमा लिखित जानकारी दिनुभएकाे छ रे, त्यसकारण याे आयाेगलाई छिटाे भन्दा छिटाे सुविधा सम्पन्न बनाइ, निश्चित समयमा सम्पन्न गर्नेगरी सरकारले अख्तियारी देओस्, अर्थ मन्त्रालयले बजेटकाे व्यवस्था गराेस्'- सांसद् तामाङले भन्नुभयाे ।
कञ्चनपुरका आरक्ष पीडितहरु कहिले हात्ती आतंक, कहिले जंगली जनावरकाे आतंकमा पर्ने र कहिले नेपाली सेना र कहिले आरक्षसँग वादविवाद हुने गरेकाे उहाँले बताउनुभयाे । 'आरक्ष पीडितहरुकाे समस्या छिटाे भन्दा छिटाे समाधान गर्न त्याे न्यायिक आयाेगलाई छिटाे भन्दा छिटाे अधिकार र स्राेत सम्पन्न बनाइ कार्यक्षेत्रमा पठाइयाेस्'- सांसद् तामाङले भन्नुभयाे ।
मध्यावधि क्षेत्रमा २ वटा कानुन मान्नुपर्ने नियम रहेकाे, जसका कारण पीडितहरुले मध्यावधि क्षेत्र खारेजकाे माग गरिरहेका भन्दै उहाँले आवश्यक हाे भने जनतालाई दुख नदिनेगरी राख्न र नभए त्याे खारेज गर्न माग गर्नुभयाे ।
हुलाकी सडक चाँडाे भन्दा चाँडाे सम्पन्न गर्न पनि सांसद् तामाङले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । कञ्चनपुरमा २ वटा चिनी मिल रहेकाे भन्दै उहाँले ती मिलमा जाने बाटाे नभएकाले तत्काल बनाइदिन माग गर्नुभयाे ।
