काठमाडाैं । नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले नुवाकाेट र धादिङ जिल्लाकाे केन्द्रबिन्दुका रुपमा रहेकाे बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरूसँग यसअघिका सरकारले पटक-पटक सम्झाैता गरेपनि कार्यान्वयन नभएकाे बताउनुभयाे ।
नुवाकाेट र धादिङका जनतामाथि शाेषण गर्ने काम राज्यबाटै भइरहेकाे उहाँले भन्नुभयाे । 'सरकारका विभिन्न मन्त्रालयले पटकपटक सम्झाैता गरे, वर्षकाे २-३ पटक बन्द गर्छन्, फाेहाेर प्रशाेधन केन्द्र बनाउने कुरा भयाे,पाइलट प्राेजेक्ट बनाउने कुरा भयाे, तर अहिलेसम्म केही भएकाे छैन, नुवाकाेट र धादिङका जनतामाथि शाेषण गर्ने र राज्य शक्तिबाट पीडित गराउने काम भएकाे छ, यसकाे निराकरणमा सरकार गम्भीर हुन नसक्ने हाे भने आन्दाेलन गर्नुपर्ने स्थिति छ'- सांसद् केसीले भन्नुभयाे ।
बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौं उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको भन्दै उहाँले साे समितिसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । अबकाे ३ दिनभित्र प्रभावितसँग सहमति गर्न माग गर्दै उहाँले उनीहरुका माग सम्बाेधन नगरिए जे पनि हुन सक्ने खतरा रहेकाे बताउनुभयाे ।
१८ वर्षमा धेरै सरकार आए-गएका, काठमाडाैं महानगरपालिका र सरकारले १ सय ७५ बढी सम्झाैता गरेकाे तर अहिलेसम्म एउटा पनि कार्यान्वयन नगरेका सांसद् केसीले बताउनुभयाे । सरकारले सम्झाैता कार्यान्वयन नगरेपछि अति भएर बञ्चरेडाँडा र सिसडाेलका जनताहरु प्रतिकार गर्ने स्थितिमा पुगेका उहाँले बताउनुभयाे ।
त्यहाँका हजाराैं जनता अत्यन्त दुरावस्था र नारकिय अवस्थामा बसिरहेका तथा अनेक राेगब्याधिबाट पीडित भएका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सराेकार समितिले यही चैत २४ देखि बञ्चरेडाँडामा राख्न नदिने बताइसकेकाे भन्दै सांसद् केसीले आफूले पीडितकाे कुरा शहरी विकास मन्त्रीसँग कुरा राख्न खाेज्दा भेट हुन नसकेकाे बताउनुभयाे ।
