काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते हुने भएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गते बुधबारका लागि तोकिएकाे सदनलाई जानकारी गराउनुभएकाे हाे ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिनुभयाे ।
उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि सो पद खाली छ । राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष एकै दल र एकै लिंगको हुन नपाउने व्यवस्था छ । अध्यक्ष दाहाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएकाे हाे भने अर्याल पनि माओवादीकै हुनुहुन्छ ।
