काठमाडौं । नेकपा एमालेका सांसद् रघुजी पन्तले कर्मचारीमा एउटा आधिकारिक ट्रेड युनियन भए पुग्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै दल पिच्छैका ट्रेड युनियन आवश्यक नरहेकाे बताउनुभयाे ।
यसले कर्मचारीतन्त्रलाई विभाजन गर्ने र त्यसकाे असर पुँजीगत खर्चमा समेत हुने बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'न कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वलाई विश्वास गर्छ, न राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रलाई विश्वास गर्छ, यसकाे एउटै कारण दलैपिच्छेकाे ट्रेड युनियन हाे ।'
दलैपिच्छेकाे ट्रेड युनियन हटाउने काम नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र वा अरु कुनै एक दलले चाहेर नहुने भन्दै उहाँले यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिम्मत गर्नुपर्ने बताउनुभयाे । 'दल पिच्छेको ट्रेड युनियन हटाउन कुनै एउटा दलले आँट गरेर हुँदैन एमालेले, कांग्रेसले, माओवादीले चाहेर हुँदैन, तर प्रधानमन्त्रीकाे हैसियतमा प्रधानमन्त्रीज्यूले याे पहल लिनुपर्छ, फाइदा र वेफाइदा हेर्याे भनेहामीले देशकाे भविष्य हेर्न सक्दैनाैं, नेता त्यो हो जसले आफ्ना मान्छेकाे मुख हेर्दैन, आफ्नाे स्वार्थ हेर्दैन, नेता त्याे हाे जसले मूल रुपमा देशकाे हित हेर्छ, अति राजनीतिकरणले नेपालकाे कर्मचारीतन्त्र आक्रान्त छ, याे पनि एउटा कारण हाे तर याे आँट हामी कसैसँग छैन, याे विधेयक पढ्दा पनि त्याे आँट देखिँदैन'- सांसद् पन्तले भन्नुभयाे ।
विधेयकमा संशाेधन हाल्ने समय रहेकाे भन्दै उहाँले यस विषयमा गम्भीर हुन समेत सबै सांसद्लाई आग्रह गर्नुभयाे । ट्रेड युनियन चाहिँदैन भन्दा पार्टी निकटकै कर्मचारीले आफ्नाे आलाेचना गर्ने भन्दै उहाँले देशकाे हित ठूलाे कुरा भएकाले आफूले याे कुरा बाेल्ने आँट गरेकाे बताउनुभयाे ।
