काठमाडौं । अहिलेको आर्थिक मन्दीको कारण केके हो ? यो विषयमा राष्ट्रिय सभा वैठकमा भगवती न्यौपानेले गम्भीर विचार राख्नुभएको छ । भगवतीका अनुसार वर्तमान मन्दीको आन्तरिक र वाह्य दुवै कारण छ ।
राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद् न्यौपानेले भन्नुभयो– ‘अहिले देखिएको मन्दीको आन्तरिक र वाह्य दुवै कारण छ । आन्तरिक र वाह्य दुवै कारण मिसिएर अर्थतन्त्रमा समस्या आएको हो ।’
रुस युक्रेन युद्धपछि विश्वव्यापी मन्दी देखिएको चर्चा गर्दै भगवतीले सन् ७० को दशकमा ओपेक देशहरुले पेट्रोलियमको मूल्य बढाउँदा आएको मन्दीको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘पेटो«लियमको मूल्य घटेपछि त्यसबेला मन्दीको समाधान भएको थियो तर अहिले मन्दी समाधान भएको छैन ।’
नेपालमा मन्दी आउनुको विभिन्न कारण रहेको बताउँदै उहाँले घरजग्गा व्यवसाय मन्दीको मुख्य कारण भएको विचार राख्नुभयो । घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको, सो लगानीका कारण घरजग्गाको मूल्य बढेको, मूल्य बढेपछि बढेकै मूल्यको मूल्यांकनका आधारमा ऋण लगानी गरिएको भन्दै उहाँले यसरी मूल्य बढ्ने, बैंक तथा वित्तीय संस्थाको ऋण पनि ओइरिने चक्र चल्नाले उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेर मन्दी आएको बताउनुभयो ।
घरजग्गामा गरेको लगानी मात्र सुरक्षित हुन्छ भन्ने भाष्य निर्माण भएको उहाँको विचार थियो । शैक्षिक ऋण लिए पनि, कृषि ऋण लिए पनि, उद्योगका नाममा ऋण लिए पनि घरजग्गा कारोबारमा लगानी भएकाले समस्या आएको उहाँले भन्नुभयो । घरजग्गामा व्यापक लगानी थपिएपछि ‘बबल व्रष्ट’ भएको विचार राख्दै उहाँले समाधानका केही उपाय पनि सुझाउनुभयो ।
‘निर्माण कार्यलाई जोड दिनुपर्यो’– भगवतीले भन्नुभयो– ‘अमेरिकाले सय वर्षमा जति सिमेन्ट खपत गरेको थियो, चीनले तीन वर्षमै खपत गरेको थियो ।’ अर्थतन्त्रलाई चलायमान बनाउन निर्माणमा जोड दिनुपर्ने विचार राख्दै उहाँले निर्माणमा जोड दिँदा सिमेन्ट, रड, ढुवानी उद्योग लगायत चल्ने, रोजगार सिर्जना हुने र पूँजी परिचालन हुने बताउनुभयो ।
‘घरजग्गाको पूँजीकरणले समस्या निम्त्यायो’– भगवतीले भन्नुभयो ।
