काठमाडाैं । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकबाट साे विधेयक बहुमतले पारित भएकाे हाे । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८० लाई पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख घिमिरेले विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
प्रतिनिधि सभाकाे बैठकले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेकाे छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पेस गर्नुभएकाे भएको साे प्रस्ताव बहुमतले स्वीकृत भएकाे हाे ।
बैठकमा सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस चाहने प्रतिनिधि सभा सदस्यलाई आफूले पेस गर्न चाहेकाे संशाेधनकाे सूचना प्रतिनिधि सभाको विधेयक शाखामा ७२ घण्टाभित्र दिन अनुराेध गर्नुभयाे ।
त्यसअघि विधेयककाे सैद्धान्तिक पक्षमाथि छलफल भएकाे थियाे । छलफलमा बाेल्दै सांसद्हरुले दलपिच्छेका ट्रेड युनियन खारेज लगायत प्रावधान विधेयकमा राख्न सुझाव दिएका थिए ।
सांसद्हरुका प्रश्नकाे मन्त्री जाेशीले जवाफ दिनुभएकाे थियाे । प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते बस्नेछ ।
