काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिका आधारमा टुंगो लगाइने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले सर्वसम्मत बनाउन सरकारले पहल गरिरहेको बताउनुभयाे ।
सशस्त्र जनयुद्धका शहीद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको भन्दै उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक चाँडै नै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभयाे । प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे - 'त्यसमा सर्वसम्मत होस् भन्ने उदेश्यसाथ सरकारले पहल भइरहेको छ, अब छिट्टै नै राष्ट्रिय सहमतिका आधारमा टुंग्याउँछौँ भन्ने मेरो विश्वास छ ।'
उहाँले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने संकल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा सुधार गरिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने कार्य प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो ।
विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र भर्चुअल अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताउनुभयो ।
सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले बताउँदै आइरहेकाे स्मरण गर्दै उहाँले भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
भूमिहीन, सुकुम्बासी लगायत समस्या समाधानका लागि निवेदन संकलन र तथ्यांक प्रविष्टिलगायत क्षेत्रगत तयारी करिब सम्पन्न भएको उहाँले बताउनुभयाे । उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।
