काठमाडाैं । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहहरुमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा विशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिनुभयो ।
केही सुधार गृहहरु सेवामूलक भन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका सुधार गृहको अनुगमन गरी सुधार गर्न समेत निर्देशन दिएको उहाँले बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए । समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
समिति सदस्य रोशन कार्कीले बालसुधार गृहहरुमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
बैठकमा गृह मन्त्रालयका प्रतिनिधिहरुले ठाउँ अभावका कारण बाल सुधार गृहहरूमा क्षमता बढी राख्नुपरेकाले नुवाकोट, मोरङ लगायत ठाउँमा थप सुधारगृह निर्माण प्रक्रिया थालिएको बताएका थिए ।
