काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै प्रमु प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे हाे ।
मंगलबारकाे प्रतिनिधि सभा बैठक सुरु हुनासाथ कांग्रेस सांसद्हरुले उठेर विराेध जनाएपछि सभामुखले कांग्रेस सचेतक सुशिला थिङलाई बाेल्न समय दिनुभयाे । सचेतक थिङले सहकारी ठगी काण्डमा गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्नै नदिइने बताउनुभयाे ।
थिङले बाेलिसकेपछि कांग्रेस सांसद्ले फेरी उठेर विराेध जनाए । सभामुखले रास्वपा सांसद् मनिष झा लाई बाेल्नका लागि समय दिएपनि कांग्रेसकाे अवराेधका कारण झाले बाेल्न पाउनुभएन । सभामुखले पटकपटक बस्न आग्रह गरेपनि कांग्रेस सांसद्ले टेरेनन् । त्यसपछि सभामुखले आजै बस्नेगरी १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयाे ।
