काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४७ सालपछि सबै प्रकरणको छानबिन गर्नका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेको छ ।
मंगलबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा मात्रै नभई ०४७ साल पछिका सबै प्रकरणहरुको छानबिन गर्नका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेको बताउनुभयो ।
कांग्रेसले आफ्नो कुरा राख्नु स्वभाविक भएको भन्दै उहाँले रास्वपाले पनि सबै प्रकरणको छानबिन गर्न सुझाव दिएको बताउनुभयो । गृहमन्त्री लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि सबै दलहरु गम्भीर भए बृहत् स्वतन्त्र छानबिन समिति गठन गर्न सबै तयार हुनुपर्ने बताउनुभयो ।
कुनै व्यक्तिमाथि ठाडो उजुरीका आधारमा समिति बनाउनुपर्ने गरी संसदीय गरिमा तल झरिनसकेको उहाँले बताउनुभयो ।
रास्वपा सांसद् डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई बोल्न नदिएर निषेधको राजनीतिको अभ्यास भएको आरोप लगाउनुभयो । सत्ता बहिर्गमनको पीडाले बिक्षिप्त भएकाले कांग्रेसले प्रतिशोधको राजनीतिक गरेको उहाँले बताउनुभयो । संसदीय छानविन समितिको विरोध नगरेको भन्दै सांसद् वाग्लेले ४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने रास्वपाको माग रहेको बताउनुभयाे ।
