काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी काण्डमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै कांग्रेस सांसद् उठेर विराेध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद् रामहरि खतिवडालाई बाेल्न समय दिनुभयाे ।
त्यसक्रममा सांसद् खतिवडाले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी काण्डमा छानबिन गर्नका लागि निष्पक्ष संसदीय छानबिन समिति बनाउनैपर्ने बताउनुभयाे । कांग्रेसले कोहीसँग पनि पूर्वाग्रह राखेर राजनीति नगर्ने दाबी गर्दै उहाँले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताउनुभयाे ।
प्रधानमन्त्रीले गृहमन्त्रीबारे जवाफ दिँदा प्रधानमन्त्रीकाे रुपमा नभएर गठबन्धनकाे नेताकाे रुपमा जवाफ दिएकाे आराेप समेत उहाँले लगाउनुभयाे । गृहमन्त्री लामिछाने निर्दाेष भए संसदीय समिति गठन गर्न किन डराएकाे भन्दै सांसद् खतिवडाले प्रश्न गर्नुभयाे । 'निर्दाेष छ भने एउटा संसदीय समिति गठन गराैं भन्दा सरकार किन चुप लागेर बसेकाे छ ? गल्ती छ भने छानबिन गरियाेस् भन्न किन सक्दैन ? सरकारको नियतमाथि हामीलाई शंका छ, तुरुन्तै छानबिन समिति बनाओस्'- उहाँले भन्नुभयाे ।
संसदीय समितिकाे निर्णय मान्न तयार रहेकाे भन्दै सांसद् खतिवडाले निष्पक्ष छानबिन समिति बनाउनैपर्ने बताउनुभयाे ।
