काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आलाेचना गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक शाहीले गृह मन्त्रालयकाे आदेशमा मंगलबार राप्रपाका नेता कार्यकर्तामाथि कुटपिट भएकाे आराेप लगाउनुभयाे । नेपालकाे संविधान ठूलाे कि गृहमन्त्री ठूलाे भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे ।
रवि लामिछानेलाई आफूहरुले काँध हालेर हिँडेकाे स्मरण गर्दै प्रमुख सचेतक शाहीले राप्रपाकाे बुधबारकाे प्रदर्शनमा निर्मम रुपमा कुटपिट भएकाे बताउनुभयाे ।
निषेधाज्ञा लगाउने ठाउँ निश्चित हुनुपर्ने भन्दै उहाँले शान्तिपूर्ण रुपमा कुनै पनि मानिस र दलले मत राख्न पाउने अधिकार संविधानले दिएकाे स्मरण गर्नुभयाे । 'आज देशकाे गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला, भद्रकालीकाे मन्दिर निषेधित क्षेत्र बनाउनुभएकाे छ, याे देशकाे संविधान ठूलाे कि गृहमन्त्री ? नेपालकाे संविधानले स्पष्ट भनेकाे छ शान्तिपूर्ण रुपमा कुनै पनि समूहले, मानिसले र दलले मत राख्न पाउँछन्, भाेलि सभामुख र सांसद्काे घरमा पनि निषेधाज्ञा जारी हाेला, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालयमा निषेधाज्ञा हुन्छ, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली मन्दिर निषेधाज्ञा हुन्छ ? व्यक्तिगत रुपमा हिजाे रवि लामिछानेलाई काँध हाल्ने व्यक्ति म पनि हाे, हिजाे मलाई कुटपिट गर्न र कपडा च्यात्न लगाउनुभयाे'- काे शाहीले भन्नुभयाे ।
भ्रष्टाचारका फाइल खाेल्ने भनेर कुरा उठाइएकाे भन्दै उहाँले यसका लागि चाबी सरकारकै हातमा रहेकाे बताउनुभयाे । गृह मन्त्रालयकाे आदेशमा राप्रपाका नेतामाथि कुटपिट भएकाे घटनाकाे आफूहरुले भर्त्सना गरेकाे प्रमुख सचेतक शाहीले बताउनुभयाे ।
सहकारी ठगी काण्डमा छानबिन समिति बनाउनुपर्ने समेत उहाँले बताउनुभयाे ।
