काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् राजेन्द्र प्रसाद पाण्डेले संसद्काे गतिराेध अन्त्यका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् पाण्डेले सहकारी ठगी काण्डमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएकाे माग पूरा गरेर सदनकाे गतिराेध अन्त्य गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सहकारी ठगी काण्डबारे प्रमुख प्रतिपक्षसँग वार्ता गरी छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने उसकाे माग पूरा गर्नतर्फ लाग्न समेत उहाँले सरकारलाई आग्रह गर्नुभयाे । 'आज संसद्मा सहकारी पीडितका सन्दर्भमा अत्यन्त धेरै जाेडदार रुपले आवाज उठिरहेकाे छ, सहकारीकाे माध्यमबाट व्यापक ठगी भइरहेकाे पनि छ, ठगीलाई कसरी नियन्त्रण गर्ने ठगीएका जनतालाई कसरी न्याय दिने भन्नेबारेमा सरकारले विशेष ध्यान पुर्याउनुपर्ने अवस्था छ, केही दिनदेखि प्रमुख प्रतिपक्षले सहकारी ठगी प्रकरणका सम्बन्धमा छानबिनकाे माग लिएर संसद् बैठक अवरुद्ध गरिरहेकाे छ, प्रमुख प्रतिपक्षकाे मागलाई ध्यान दिएर सार्थक वार्ता गरी संसद्काे गतिराेध अन्त्य गर्न सरकारलाई ध्यानाकर्षण गराउँछु'- पाण्डेले भन्नुभयाे ।
दाेषीलाई कारबाही गर्नेगरी २०४७ पछिका भ्रष्टाचार काण्ड र सहकारी काण्डकाे छानबिन गर्न समेत उहाँले सरकारलाई सुझाव दिनुभयाे । संसद् विकास काेषकाे बजेट जाजरकाेटका भूकम्प पीडितका लागि खर्च गरिएकाेमा सांसद् पाण्डेले आपत्ति जनाउनुभयाे ।
