काठमाडाैं । नेकपा एमालेकी सांसद् बिमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा भएको मत विभाजनमा घिमिरेकाे पक्षमा ३९ र विपक्षमा १६ मत परेकाे हाे ।
बिमला घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकाे पक्षमा ३९ मत परेकाे र उक्त संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेकाे सम्पूर्ण सदस्य संख्याकाे बहुमत भएकाले साे प्रस्ताव बहुमतले स्वीकृत भएकाे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयाे ।
बैठकमा ५५ जना सांसद् उपस्थित भएका थिए । उहाँलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी लगायत सत्तारूढ दलकाे समर्थन थियाे ।
त्यसअघि नेपाली कांग्रेसकी सांसद् विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएकाे थियाे ।पुडासैनीकाे पक्षमा १६ र विपक्षमा ३९ मत परेकाे थियाे ।
