काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्का स्थापित मूल्य र मान्यताकाे धज्जी उडाउँदै कांग्रेसले संसद् अवरोध गरेको बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले संसद्मा विधेयकहरुलाई अघि बढ्न नदिएर कांग्रेसले अलोकतान्त्रिक काम गरेको बताउनुभयो । आन्दोलनकाे स्वरुप फेरेर सदनलाई सहज रुपमा चल्ने वातावरण बनाउन समेत उहाँले कांग्रेसलाई आग्रह गर्नुभयो ।
प्रमुख सचेतक बर्तौलाले कांग्रेस सरकारमा हुँदा नै सहकारी प्रकरणका कुरा उठेको र त्यस बेला पनि कांग्रेसले बदनियत राखेर अनुसन्धान नगरेको बताउनुभयाे । सरकारबाट हट्नेबितिकै प्रतिशोध साँध्न कांग्रेसले सहकारी प्रकरणमा छानबिन समितिको माग राखेको भन्दै उहाँले यसको कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो । सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने समेत प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे ।
सहकारी पीडितलाई न्याय दिनुपर्नेमा एमालेको स्पष्ट धारणा रहेको भन्दै प्रमुख सचेतक बर्ताैलाले नीति नियम कानुन बनाएर यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।
