काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी काण्डमा संसदीय छानबिन समिति नबन्ने स्पष्ट पार्नुभएको छ ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेबिरुद्ध छानबिन गर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रह मात्रै भएको भन्दै छानबिन समिति बन्न नसक्ने स्पष्ट पार्नुभएको हो ।
सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने उहाँले बताउनुभयो ।
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने बताउनुभयाे ।
उहाँले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको विस्तारित बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड विराटनगर पुग्नुभएको हो ।
