काठमाडौं । प्रतिनिधि सभाको यस वर्षको हिउँदे अधिवेशनको अन्तिम बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा आठ वटा सम्भावित कार्यसूची रहेका छन् ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त मौखिक तथा लिखित प्रश्न र उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८०’ पनि पेश गर्ने आजको बैठकको कार्यसूचीमा रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्य सूची आजकै बैठकमा रहेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची पनि बैठकमा रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश कार्यसूची पनि सार्वजनिक गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले चालू अधिवेशनको १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यक्रम पनि रहेको छ ।
