काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटकाे तयारीका लागि प्रतिनिधि सभाकाे चालु अधिवेशन अन्त्य गरिएकाे बताउनुभएकाे छ ।
आइतबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे विराेधका कारण नभइ बजेट अधिवेशनका लागि अधिवेशन अन्त्य गरिएको प्रष्ट पार्नुभयाे ।
बजेट अधिवेशनका लागि १५ दिनको ग्याप राख्नुपर्ने र जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक अवस्थालाई बुझ्नुपर्ने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'बजेट अधिवेशन, नीति कार्यक्रम, प्रिबजेट छलफल, बजेटकाे तयारी र प्रस्तुती, विभिन्न विधेयककाे तयारी र छलफल गर्नुपर्नेछ, अल्झिएर बस्ने कुरा त भएन, यतिखेर हिउँदे अधिवेशन अन्त्य हुनैपर्थ्याे, अब बजेट अधिवेशन सुरु हुनैपर्छ, १५ दिनकाे ग्याप राख्दा वैशाखकाे १७- १८-२० यसै जाने भयाे, समयकाे हिसाबले पनि अलिकति राखेर अर्काे अधिवेशन बाेलाउनुपर्छ, जेठ १५ गते त कुनै अलमलबिना बजेट प्रस्तुत गर्नुपर्छ, त्याे भन्दा अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।'
उहाँले नेपाली कांग्रेसले संसदीय प्रणाली र मर्यादाकाे रक्षा गर्न नसकेकाे बताउनुभयाे । आवेस र उत्तेजनाकाे काम नभएकाे भन्दै अध्यक्ष ओलीले सच्चिनका लागि कांग्रेसलाई सुझाव दिनुभयाे । विधि अन्तर्गत समाधान खाेज्नुपर्ने भन्दै उहाँले जनताकाे नाममा कांग्रेसले सदनबाट कुण्ठा पाेखेकाे बताउनुभयाे ।
