काठमाडाैं । सांसद्हरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले विश्वविद्यालयको संख्या बढाएर मात्रै केही नहुने भन्दै फरक ढंगको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् ।
सांसद् प्रदीप पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक औचित्य पुष्टि हुने गरी नआएको बताउनुभयो । उहाँले विधेयकमा नै नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट हुनुपर्ने बताउनुभयो । सांसद् पाैडेलले विश्वविद्यालयको संख्या मात्रै बढाउने हो भने छाता ऐन ल्याएर व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
सांसद् प्रेम सुवालले विद्यार्थी भर्ना हुने अवस्था सिर्जना गर्ने गरी नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले सम्बन्धन दिएका विश्वविद्यालयको अवस्थाबारे पनि जानकारी लिनुपर्ने बताउनुभयो ।
नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको हो । यसअघि समितिले साे विधेयकमा सन्दर्भमा शिक्षाविद्, विज्ञ, विभिन्न दलका विद्यार्थी संगठन लगायतसँग छलफल गरेको थियो ।
