काठमाडाैं । नेपाली सेनाले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणमा करिब ३३ प्रतिशत भौतिक र वित्तीय प्रगति भएको जनाएको छ ।
शुक्रबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा सेनाले काठमाडौं-निजगढ द्रुतमार्गको काम चैत मसान्तसम्म ३३ प्रतिशत सम्पन्न भएको जनाएको हो ।
त्यसक्रममा हालसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भएको प्रधानसेनापति प्रभुराम शर्माले जानकारी दिनुभयो । द्रुत मार्ग ताेकिएकै समयमा निर्माण सम्पन्न हुने पनि प्रधान सेनापति शर्माले जानकारी दिनुभयाे । उहाँले द्रुतमार्गमा पर्ने टनेलहरुको काम पनि अन्तिम चरणमा पुगेको बताउनुभयो ।
चन्द्रामभिरको सुरुङका लागि ठेक्का लागिसकेको उहाँले बताउनुभयो । आयोजना अन्तर्गत ११ प्याकेजहरुमध्ये १० वटा सम्पन्न भइसकेको पनि प्रधान सेनापति शर्माले जानकारी दिनुभयो । रुख कटानका लागि वन मन्त्रालयको सहजीकरणमा ३० हजार भन्दा रुख काटिएको र समितिको निर्देशन अनुसार रुख कटानमा देखिएको समस्या समाधान भएको उहाँले जानकारी दिनुभयाे ।
प्रधानसेनापति शर्माले पूर्वदेखि पश्चिसम्मको ४ वटा करिडोरमध्ये कर्णाली करिडोरको काम ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । बेनिघाट, आरुघाट, लार्के भन्ज्याङ करिडोरको प्रगति ७० प्रतिशत भइसकेको उहाँले बताउनुभयो । प्रधानसेनापति शर्माले दार्चुला-टिंकरको काम ६७ दशमवल २ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
सेनाले गरिरहेका विकास निर्माणहरु सहज रुपले अघि बढिरहेको भन्दै उहाँले निर्देशन गर्नुपर्ने गरी कुनै समस्या नभएको बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले विभिन्न समस्या समाधान गर्दै समयमा नै आयोजनाहरु सम्पन्न गर्नुपर्ने बताएका थिए ।
