काठमाडाैं । प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएकाे छ ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको हाे ।
निलम्बनसम्बन्धी निर्णय सर्वोच्च अदालतको उत्प्रेषणको आदेशले बदर गरिएकाे जानकारी प्राप्त भएपछि प्रतिनिधि सभा सदस्य गुरुङको निलम्बन फुकुवा गरिएकाे संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार निकाल्नुभएकाे सूचनामा उल्लेख छ ।
सर्वाेच्च अदालतले चैत १६ गते गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएकाे थियाे ।
भृकुटीमण्डपको जग्गा भाडा काण्डमा गुरुङ दाेषी ठहर हुनुभएकाे थियाे । त्यसपछि संघीय संसद् सचिवालयले ०७९ पुस १२ गते भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वत: निलम्बनमा रहने व्यवस्था अनुसार निलम्बन गरेकाे थियाे ।
भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद् पद निलम्बन फुकुवाको माग गर्दै सर्वाेच्चमा रिट दायर गर्नुभएकाे थियाे ।
०७९ भएकाे चुनावमा गुरुङ कांग्रेसकाे तर्फबाट मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।
