काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान दाहाेर्याएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै कांग्रेस सांसद् गगन थापाले गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय छानबिन समिति नबनेसम्म अब सदनकाे काम कारबाही अगाडि नबढ्ने चेतावनी दिनुभयाे । सहकारी काण्डमा संसद्ले छानबिन समिति बनाउनैपर्ने उहाँले बताउनुभयाे ।
छानबिन समिति बनाउन सरकार डराएकाे आराेप उहाँले लगाउनुभयाे । छानबिन समिति बढाउनुकाे सट्टा प्रहरी, प्रधानमन्त्री र महान्यायधिवक्तालाई समेत प्रयाेग गर्ने काम भएकाे आराेप पनि सांसद् थापाले लगाउनुभयाे । 'समिति बनाउन किन डराएकाे ? समितिमा सबै बस्ने हाेला ? कहिले प्रहरीलाई बाेल्न लगाएकाे छ ? कहिले प्रधानमन्त्री ? महान्यायधिवक्ता त झुक्दा झुक्दा लम्पसार बन्नुभयाे'- थापाले भन्नुभयाे ।
सहमतिबिनै सदन अगाडि बढाइएकाे भन्दै उहाँले प्रतिनिधि सभामा प्रश्नहरुकाे घाँटी निमाेठ्ने काम भएकाे आराेप लगाउनुभयाे ।
