काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्नुभएकाे छ ।
सदनकाे गतिराेध अन्त्य र नीति तथा कार्यक्रमको तयारीको विषयमा सभामुख घिमिरेले आइतबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्नुभएकाे हाे ।
सभामुखकाे कार्यकक्ष सिंहदरबारमा जारी छलफलमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतककाे सहभागिता छ । बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्ताैला, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्काे गतिरोध हटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेतासँग परामर्श गरेकै दिन सभामुखले पनि परामर्श थाल्नुभएकाे हाे ।
सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिकाे माग गर्दै कांग्रेस सदनकाे बजेट अधिवेशनकाे पहिलाे बैठक नै अवरुद्ध गरेकाे थियाे । छानबिन समिति बनाउनैपर्ने अडान कांग्रेसले लिएकाे छ ।
जेठ गते सरकारकाे नीति तथा कार्यक्रममा सदनमा प्रस्तुत गर्ने तय भएकाे छ । साे बैठक पनि कांग्रेसले अवरुद्ध पार्न सक्ने देखिएपछि प्रधानमन्त्री र सभामुखले सहमतिका लागि पहल थाल्नुभएकाे हाे ।
