काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिका नाममा सरकार माग गरेको बताउनुभएकाे छ ।
सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्ताैलाले समितिका नाममा कांग्रेसले सरकार मागेकाे बताउनुभयाे । कांग्रेसकाे माग कानुन र नियमसंगत नभएकाे उहाँले बताउनुभयाे ।
कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि संसदीय छानबिन समिति बन्ने अवस्था आफूले नदेखेकाे समेत प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे । 'प्रमुख प्रतिपक्षले उठाएकाे विषय कानुनसम्मत छैन, कांग्रेसले समिति माग गरेको होइन समितिका नाममा सरकार माग गरेको हो त्याे कुरा सम्भव छैन, कांग्रेसले आत्महत्यै गर्छु भन्नेगरी प्रस्तुत भए पनि यो माग पूरा हुने अवस्था देख्दिन, कानुनसम्मत पनि छैन याे मुद्दा नियमसंगत पनि छैन' - उहाँले भन्नुभयाे ।
कांग्रेसको माग सहकारी पीडितलाई न्याय दिने विषयमा नभएर केबल सरकारसँग जाेडिएर आएकाे प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे । 'याे सहकारी पीडितकाे न्यायसँग जाेडिएर याे विषय आएकाे छैन, केवल याे सरकारसँग जोडिएर आएको विषय हाे, त्यसकारण समितिका नाममा सरकार माग्ने प्रमुख प्रतिपक्षकाे मुद्दा सम्बोधन हुने अवस्था म देखिँदैन' - उहाँले भन्नुभयाे ।
प्रमुख सचेतक बर्ताैलाले सहकारी ठगी काण्डमा सरकारले उच्च गतिमा काम गर्नुपर्ने र त्यसमा एमालेकाे पूर्ण साथ रहेकाे बताउनुभयाे । तर व्यक्तिकेन्द्रित समितिकाे काम नहुने उहाँले बताउनुभयाे । संसदीय छानबिन समिति बनाउँदै जाने हाे भने संसद् प्रभावित र बेकामे हुने समेत बर्ताैलाले बताउनुभयाे ।
जेठ १ गतेकाे बैठक सहज रुपमा अगाडि बढाउने विषयमा पनि छलफल भएकाे प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे । त्याे बैठक राष्ट्रपतिले सरकारकाे नीति तथा कार्यक्रम पेस गर्न बाेलाउनुभएकाे पनि उहाँले बताउनुभयाे ।
