काठमाडाैं । सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएकाे
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उच्च हिमश्रृंखला र नदी प्रणालीलाई जिवन्त राख्दै हिमाल पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बाेधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे ।
जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय काेषकाे अधिकतम उपयाेग गर्न र यस्ताे काेषमाथिकाे अधिकार स्थापित गर्न विशेष प्रयत्न गरिने उहाँले बताउनुभयाे ।
जलवायु परिवर्तनका कारण पुगेकाे क्षतिवापत हानी तथा नाेक्सानी काेषबाट आर्थिक सहायता प्राप्त गर्न कूटनीतिक पहल गरिने राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
जलवायु परिवर्तनकाे असर न्यूनीकरण र अनुकूलन तथा विपद् जाेखिम न्यूनीकरणका लागि राष्ट्रिय नीति तथा कार्ययाेजना कार्यान्वयन गरिने उहाँले बताउनुभयाे ।
जलवायु परिवर्तनका कारण हिमाली तथा पर्वतीय क्षेत्रमा परेकाे प्रभाव सम्बन्धी मुद्दामा अन्तर्राष्ट्रियकरण गर्न नेपालकाे नेतृत्वदायी भूमिका स्थापित गरिने राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
जलवायु संकटबाट अल्पविकसित तथा हिमाली मुलुकमा उत्पन्न जाेखिमबारे विश्वकाे ध्यानाकर्षण गर्न, संवेदनशीलता जाेगाउन, सराेकारवाला मुलुककाे सञ्जाल निर्माण गर्न, जलवायु वित्तकाे नतिजामुखी परिचालन गर्न जलवायु परिवर्तन, हिमाल र मानवजातीकाे भविष्य विषयक अन्तर्राष्ट्रिय संवाद आयाेजना गरिने राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्पादनशीलता हासिल गरिने उहाँले बताउनुभयाे । २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनकाे लक्ष्य हासिल गर्नका लागि काम गरिने राष्ट्रपति पाैडेलले बताउनुभयाे ।
