काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकपछि साँझ ६ बजे बसेकाे प्रतिनिधि सभा बैठक कांग्रेसले अवरुद्ध गरेकाे हाे । कांग्रेसकाे अवराेधपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
कांग्रेसकाे नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक बिहीबार बिहान ११ बजे सम्मका लागि स्थगित गर्नुभएकाे हाे ।
सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रविलामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएकाे छ ।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसद्ले वेल घेराउ गर्दै नाराबाजी गरे । सभामुख घिमिरेले महत्वपूर्ण कार्यसूची भएकाे भन्दै अघि बढाउन पटक पटक आग्रह गर्नुभयाे । तर कांग्रेसका सांसद् ब्याक भएनन् । त्यसपछि सभामुख घिमिरेले बैठकका कार्यक्रम कार्यसूचीबाट हटाइएकाे जानकारी दिँदै बैठक स्थगित गर्नुभयाे ।
आज संघीय संसद्काे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
त्यसपछि बसेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने लगायत कार्यसूची थियो । तर राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएकाे कांग्रेसले दुवै सदनका बाँकी कार्यसूची भने अगाडि बढाउन दिएन ।
कांग्रेसकाे मंगलबार बसेकाे संसदीय दलकाे बैठकले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दिने तर संसदीय छानबिन समिति नबनेसम्म अरु कार्यसूची अघि बढ्न नदिने निर्णय गरेकाे थियाे ।
