काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएकाे छ ।
मंगलबार संघीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे राष्ट्रिय सभा बैठकमा कांग्रेसका सांसद्ले अवराेध गरेपछि बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हाे
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी काण्डमा छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले दुवै सदनकाे बैठक अवरुद्ध गर्दै आएकाे छ ।
मंगलबार संसद्का दुवै सदनकाे संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबल गर्ने लगायत कार्यसूची थियो । तर राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएकाे कांग्रेसले दुवै सदनका बाँकी कार्यसूची भने अगाडि बढाउन दिएन ।
कांग्रेसकाे मंगलबार बसेकाे संसदीय दलकाे बैठकले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दिने तर संसदीय छानबिन समिति नबनेसम्म अरु कार्यसूची अघि बढ्न नदिने निर्णय गरेकाे थियाे ।
