काठमाडाैं । सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्ताैलाले नीति तथा कार्यक्रम उत्साहप्रद रहेकाे बताउनुभएकाे छ ।
मंगलबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्ताैलाले नीति तथा कार्यक्रम उपयुक्त ढंगले आएकाे बताउनुभयाे ।
नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने बजेट आउछ कि आउँदैन भन्ने मुख्य कुरा भएकाे उहाँले बताउनुभयाे । नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेकाे प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे । यथार्थपरक, सन्तुलित र यसलाई कार्यान्वयन गर्ने बजेट आयाे भने देशकाे हितका लागि राम्राे हुने उहाँले बताउनुभयाे ।
युवालाई रोजगारीसँग जोड्ने र खेतीयोग्य जमिनलाई उपयोगको नीतिलाई प्रोत्साहित गर्ने कार्यक्रम सरकारले ल्याएकाे भन्दै बर्ताैलाले विदेशबाट फर्किएका युवालाई उद्योगमा जोड्ने, छोरीहरुलाई सशक्तीकरण कार्यक्रम ल्याइएको पनि बताउनुभयाे ।
लामाे समयसम्म संसद्लाई बन्दक नबनाउन प्रमुख सचेतक बर्ताैलाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गर्नुभयाे । गृहमन्त्रीलाई संसद्मा बाेल्न नदिएर कांग्रेसले गलत गरेकाे उहाँले बताउनुभयाे ।
नीति तथा कार्यक्रम प्रस्तुत गरेकाेमा राष्ट्रपतिलाई धन्यवाद दिन नपाइएकाे संसदीय अभ्यासमै पहिलाे घटना भएकाे समेत प्रमुख सचेतक बर्ताैलाले बताउनुभयाे । संसद्मा मुठेभेडकाे स्थिति निम्त्याउने वातावरण कांग्रेसले निर्माण गरेकाे उहाँले बताउनुभयाे ।
सहकारीमा बदमासी गर्नेहरुलाई कारबाहीकाे दायरामा ल्याउनुपर्ने भन्दै प्रमुख सचेतक बर्ताैलाले व्यक्ति केन्द्रित नभएर समग्र समस्याका लागि समिति बनाउनुपर्ने बताउनुभयाे ।
