काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय गरिएकाे छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
सभामुख घिमिरेले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पाैडेलले हिजाे जेठ १ गते गरेको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची छ ।
बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मंगलबार गरेको सम्बोधनका लागि प्रतिनिधि सभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले 'सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०' पेस गर्नुहुने कार्यसूची पनि छ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नुहुनेछ ।
बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा उद्योगमन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको 'विद्युतीय व्यापार विधेयक, २०८०' लाई दफावार छलफलकf लागि सम्बन्धित समितिमा पठाइयोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएकाे छ ।
