काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाकाे बैठक अवरुद्ध गरेकाे छ ।
बिहीबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ कांग्रेसले अवरुद्ध गरेको हाे । कांग्रेसकाे अवराेधपछि बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ ४ गतेसम्मका लागि स्थगित भएकाे छ ।
आज बैठक सुरु हुनासाथ कांग्रेसका सांसद्ले उभिएर विराेध जनाए । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाकाे ६ वर्ष पुगेर ७ वर्ष लाग्दा समेत यस्ताे नभएकाे बताउनुभयाे । 'नेपालकाे सिंगाे संसदीय इतिहासमा राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रममा सम्बाेधन गर्नुभएकाे, त्यसैकाे एउटा अंश जसलाई धन्यवाद दिनुपर्ने हामीले, त्याे धन्यवाद पनि दिन पाएका छैनाैं, २ मिनेटकाे काम पनि हामीले राेकिराखेका छाैं, यसले बाहिर कस्ताे सन्देश जान्छ भन्ने हामीले सबैले अनुमान गरेका छाैं, यसले हामी मात्र हाेइन सिंगाे देशै गम्भीर बनेकाे छ, राष्ट्रिय सभा त्यस्ताे हाेइन यसले कामकारबाही अगाडि बढाउँछ भन्ने बुझेका छाैं, त्यसकारण माननीय सदस्यलाई यथास्थानमा बसेर कामकारबाहीलाई अगाडि बढाइदिन विशेष अनुराेध गर्दछु'- उहाँले भन्नुभयाे ।
अध्यक्ष दाहालले बस्नका लागि पटकपटक आग्रह गरेपनि कांग्रेस सांसद्हरु उभिइरहे । त्यसपछि अध्यक्ष दाहालले भाेलि शुक्रबारसम्मका लागि बैठक स्थगित गरिएकाे घाेषणा गर्नुभयाे । यसअघि जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत भएपछि बसेकाे राष्ट्रिय सभा बैठक पनि कांग्रेसले अवरुद्ध गरेकाे थियाे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी काण्डमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदनकाे बैठक अवरुद्ध गर्दै आएकाे छ ।
