काठमाडाैं । प्रतिनिधि सभामा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच नाराबाजी र धकेलाधकेल भएकाे छ ।
बिहीबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद्ले वेल घेराउ गर्दै नाराबाजी थाले ।
कांग्रेसकाे नाराबाजी र अरु प्रतिपक्षी दलकाे अवराेधबीच सभामुख देवराज घिमिरेले बैठककाे कार्यसूची अगाडि बढाउनुभयाे । उहाँले राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाउनुभयाे । त्यसपछि कांग्रेसका सांसद् झन् आक्रामक रुपमा प्रस्तुत भए ।
फेरि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बाेल्नका लागि समय दिएकाे बताउनुभयाे । कांग्रेसका सांसद् अझ बढी आक्रामक बन्दै गृहमन्त्रीलाई छेकेर नाराबाजीमा उत्रिए ।
कांग्रेसका सांसद्हरु सत्तापक्षकाे राेमा पुगे । त्यसपछि सत्तापक्षका सांसद्हरु पनि उठे । दुवैतर्फको नाराबाजीमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि उभिनुभयाे ।
गृहमन्त्रीलाई बाेल्न नराेकाैं भनेर केपी ओलीले संकेत गर्दा कांग्रेस सांसद् धनराज गुरुङले ओलीको नजिकै गएर औंला ठड्याउँदै अभद्र व्यवहार गर्नुभयाे । गुरुङ आक्रमण नै गर्ने हिसाबले अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला, ठाकुर गैरे, रघुजी पन्त, सूर्य थापा लगायत सांसद्ले प्रतिवाद गर्नुभयाे ।
त्यसपछि एमाले र कांग्रेसका सांसद्बीच केहीबेर धकेलाधकेल भयो । कांग्रेसकाे अवराेधपछि सभामुख घिमिरेले बैठक भाेलिसम्मका लागि स्थगित गर्नुभएकाे छ ।
