काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नेपाली कांग्रेसका सांसद्हरुले आक्रमणको प्रयास गरेका छन् । प्रतिनिधि सभा वैठकमा कांग्रेसका सांसद् धनराज गुरुङ लगायतले अध्यक्ष ओलीका सामु गएर आक्रोशपूर्ण व्यवहार प्रदर्शन गर्नुभएको हो ।
धनराज सहितका कांग्रेस सांसद्हरु आक्रोशित बन्दै ओली अगाडि गएर नारा लगाउन थालेपछि एमालेका सांसद्हरुले ओलीलाई घेरा हालेर सुरक्षा दिएका थिए । सो क्रममा कांग्रेस र एमाले सांसद्हरु बीच धक्कामुक्का भएको थियो भने प्रत्यक्ष हात हालाहालको समेत स्थिति सिर्जना भएको थियो ।
सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएपछि नारावाजी गरिरहेका कांग्रेसका सांसद्हरु थप आक्रोशित भएका थिए । उनीहरु रवि उभिएको ठाउँतिर गएका थिए । त्यही बेला रविलाई रोष्ट्रमतर्फ जाने बाटो क्लियर गरिदिन रविकै लहरमा बस्नुभएका अध्यक्ष ओली सहितका सांसद्हरु उभिएका थिए । त्यही बेला कांग्रेसका आक्रोशित सांसद्हरु मुठ्ठी बटारेर नारा लगाउँदै ओलीका अगाडि गएका थिए । ओलीलाई मुठ्ठी देखाएको हो की मुठ्ठी देखाउँदै नारा लगाएको हो भनी छुट्याउन नसकिने खालको अवस्था देखिएको थियो ।
कांग्रेसका सांसद्हरुले गरेको दुव्र्यहारको एमाले सांसद्हरुले निन्दा गरेका छन् । एमाले सांसद् रघुजी पन्तले भन्नुभयो– कांग्रेसका सांसद्हरुले हाम्रा संसदीय दलका नेता केपी शर्मा ओलीप्रति अमर्यादित व्यवहार गरेका छन्, यसको निन्दा गर्छु ।
