काठमाडाैं । नेपाली कांग्रेसका सांसद् एवं प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख देवराज घिमिरे पार्टीको निर्देशन अनुसार चलेकाे गम्भीर आराेप लगाउनुभएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् महतले सभामुख घिमिरे पार्टी नेतृत्वको निर्देशनअनुसार चलेको गम्भीर आराेप लगाउनुभयाे ।
प्रमुख प्रतिपक्ष दल वेलमा निस्किएकाे बेला सभामुख घिमिरेले सदन सञ्चालन गर्नु संसदीय इतिहासमै अमर्यादित काम भएकाे उहाँले बताउनुभयाे । 'संसदीय विधिकाे रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशन बमोजिम हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो'- सांसद् महतले भन्नुभयाे ।
कांग्रेस सबैभन्दा धैर्य गर्ने पार्टी भएकाे दाबी गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेसले कुनै आक्रमण प्रयास नगरेकाे दाबी पनि गर्नुभयाे । संसद्मा कांग्रेसले नभइ सरकारले गाईजात्रा देखाएकाे आराेप लगाउँदै उहाँले याे गाईजात्रा कहिले अन्त्य हुने भन्ने सरकारकाे हातमा रहेकाे बताउनुभयाे ।
समग्र सहकारी र सँगसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने सांसद् महतले बताउनुभयाे । लामिछाने अहिले शक्तिमा रहेकाले निष्पक्ष रुपमा अघि बढ्न नसक्ने भएकाले संसदीय छानबिन समितिकाे माग गरिएकाे उहाँले बताउनुभयाे ।
सरकार कसरी अगाडि बढ्छ साेही अनुसार आफूहरुले रणनीति बनाउने समेत सांसद् महतले बताउनुभयाे ।
