काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा वैठक रोक्न सभामुख देवराज घिमिरेलाई दवाब दिएको छ ।
गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभा वैठकमा बोल्न दिने कि नदिने विवाद बीच कांग्रेसले वैठक नै रोक्न दवाब दिएको हो । प्रतिनिधि सभाको वैठक आज ११ बजेका लागि बोलाइएको थियो तर यो समाचार तयार पार्दासम्म सुरु भएको छैन ।
सत्तापक्ष र प्रतिपक्ष बीच रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संसदीय छानविन बनाउने विषयमा छलफल भइरहेको छ । छानविन समिति बनाउन सहमति भइसकेको छ तर त्यो समितिले कस्तो कार्यादेश पाउने भन्नेमा विवाद चलिरहेको छ । यही विषयमा सत्तापक्ष र प्रतिपक्ष बीच सघन वार्ता चलिरहँदा प्रतिनिधि सभा वैठकमा भने ढिलाई भइरहेको छ ।
सत्तापक्षले रवि लामिछानेले सहकारी प्रकरणमा गरेको भनिएका कारोबार उपर छानविन नहुने गरी समिति बनाउने अडान लिएको छ । उता प्रतिपक्षले भने रविकै नाममा छानविनको सुनिश्चितता माग गरेको छ ।
रवि लामिछानेलाई सदनमा बोल्न नदिएकोमा कांग्रेस निरन्तर आलोलित हुँदै आएको छ । सदन चल्नासाथ सभामुख देवराज घिमिरेले गृहमन्त्री रविलाई बोल्न समय दिने र प्रतिपक्षले अवरोध सिर्जना गर्ने अवस्था यथावत छ । अवरोध र रविलाई बोल्न नदिएको कारण आफ्नो छवीमा असर परिरहेको कांग्रेसले बुझेको छ, त्यसैले सहमति नहुँदासम्म वैठक नै नराख्न कांग्रेसले माग गरिरहेको छ ।
