काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजीबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्नुभएको छ ।
नेपाली कांग्रेसका सांसदहरूले संसद्मा नाराबाजी गरिरहेको बेला सभामुखले प्रधानमन्त्रीलाई मर्यादा पालकको सहायताले रोष्टममा बोलाउनुभएको थियो । विश्वासको मत माग्नु रोष्टममा उभिनुभएका प्रधानमन्त्री दाहालले राष्ट्र निर्माणको लागि आफूलाई मत दिन आग्रह गर्नुभयो ।
उहाँले सांसदसँग विश्वासको मत मात्र नभएर देशमा देखिएको निराशा चिर्न सार्थक सहयोग माग गरेको बताउनुभयो । शासकीय सुधारको लागि आफू दृढ सङ्कल्परत रहेको उहाँले प्रष्ट पार्नुभयो ।
राष्ट्र निर्माणको लागि सरकारलाई सक्रिय विश्वासको मत आवश्यक रहेको दाहालले बताउनुभयो । ‘प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्रनिर्माण नै भएकाले यही गन्तव्यका लागि विश्वासको मत दिनुस्’, दाहालले भन्नुभयो ।
